कञ्चनपुरमा सहकारीद्धारा आँखा उपचार केन्द्र सञ्चालन, कस्तो छ सुविधा ?

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको सिर्जनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । च्यारिटी हेल्थ फाउण्डेशन कैलालीसँगको साझेदारीमा सहकारीले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । सर्वसाधारणलाई सहज र सुलभरूपमा सेवा प्रदान गर्ने उद्देश्यले आँखा उपचार केन्द्र सञ्चालन गरिएको सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले बताए ।

‘सहकारीको उद्देश्य नाफा आर्जन गर्ने मात्र होइन’, उनले भने, ‘सामाजिक क्षेत्रमा समेत लगानी गर्नुपर्छ । त्यही भावनाले प्रेरित भएर उपचार केन्द्र सञ्चालन गरेका छौँं ।’ फाउन्डेशनले उपचार केन्द्रका लागि आवश्यक पर्ने उपकरण, औषधि तथा जनशक्तिको व्यवस्थापन गरेको छ । सहकारीले उपचार केन्द्र सञ्चालनका लागि घरभाडा, विद्युत् र खानेपानीको महसुल तिर्ने सम्झौता गरेको छ ।

वैशाख महिनादेखि नै सहकारीले उपचार केन्द्र सञ्चालन गर्ने लक्ष्य लिएको भए पनि कोरोनाको सङ्क्रमण बढेपछि गरिएको बन्दाबन्दीका कारण विलम्ब गरी उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । उपचार केन्द्रबाट हुने आम्दानीबाट आँखा उपचारमा संलग्न प्राविधिकको तलबलगायतको सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

बिरामीको चापअनुसार थप जनशक्ति थप्नुपरेमा सहकारीले सम्पूर्ण खर्च बेहोर्ने गरी राख्ने सहकारीका अध्यक्ष शिवराज भट्टले बताए । वैशाख महिनादेखि नै आँखा उपचार केन्द्र सञ्चालन गर्ने सम्झौता गरिएको भए पनि कोरोनाको बढ्दो सङ्क्रमणका कारण सञ्चालनमा विलम्ब भएको उनले बताएका छन् ।

उपचार केन्द्रमा पुग्ने बिरामीको अबदेखि निरन्तररूपमा उपचार हुने उहाँको भनाइ छ । सहकारीमा आबद्ध १३ हजार ५०० सदस्यलाई आँखा उपचारमा छुट दिने व्यवस्थासमेत गरिएको छ । त्यसका लागि कार्ड बनाउने कार्य भइरहेको सहकारीका पदाधिकारीले बताएका छन् । केन्द्रमा उपचारका लागि आउने बिरामीका लागि रु ५० दर्ता शुल्क निर्धारण गरिएको छ । बाह्य क्षेत्रभन्दा निकै सहुलियत मूल्यमा उपचार केन्द्रबाट बिरामीलाई आवश्यक औषधि उपलब्ध गराइने बताइएको छ ।

नगरपालिका क्षेत्रमा आँखा उपचारको व्यवस्था नहुँदा नगरवासीले टाढाको महेन्द्रनगर र धनगढी पुगेर चर्को शुल्क तिरेर उपचार गराउँदै आएका छन् । झलारी बजारमै आँखा उपचार केन्द्र सञ्चालन भएपछि स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन् ।

च्यारिटी हेल्थ फाउण्डेशनसँगको सहकार्यमा सहकारीले गत महिना शुक्लाफाँटा–९ मा आँखा शिविरसमेत सञ्चालन गरेको थियो । शिविरमा ३०० भन्दा बढी आँखाका बिरामी लाभान्वित भएका थिए । शिविरमा बिरामीको उपचारसँंगै निःशुल्क चश्मा र औषधि वितरण गरिएको थियो । फाउण्डेशनको सहकार्यमा सहकारीले केही दिनभित्रै शल्यक्रियासहितको बृहत् आँखा शिविर सञ्चालन गर्ने योजनासमेत बनाएको छ । नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले आँखा उपचार केन्द्रका लागि आवश्यक पर्ने सहयोग नगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal