विद्युत आपूर्ति अनियमित हुँदा बाजुराका सञ्चारकर्मीलाई काम गर्न सकस

बाजुरा । बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालित त्रिवेणी साना जलविद्युत् केन्द्रबाट विद्युत् आपूर्ति अनियमित हुन थालेपछि राष्ट्रिय प्रसारणको विद्युत् लाइन तत्काल विस्तार गर्न माग राख्दै जिल्लाका सञ्चारकर्मीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

सञ्चारकर्मीले प्रमुख जिल्ला अधिकारी मार्फत् नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएका हुन् । प्राधिकरणको लाइन विस्तारमा ढिलाइ भएको भन्दै सञ्चारकर्मीले सोमबार ज्ञापनपत्र बुझाएका हुन् । बिजुली नहुँदा सदरमुकाममै सास्ती भोग्नुपरेको पत्रकार वसन्त विश्वकर्माले बताउनुभयो । जिल्लामा सञ्चालित विभिन्न विद्युतीय तथा छापा माध्यममा कार्यरत पत्रकारलाई काम गर्न समस्या भएको उहाँ बताउनुहुन्छ ।

नेपाल सरकारको स्वामित्वमा रहेको बाजुरा साना जलविद्युत केन्द्र हाल त्रिवेणी सहकारी संस्था लिमिटेडले भाडामा सञ्चालन गरिरहेको छ । सहकारीको विद्युत् व्यवस्थापन तथा सञ्चालनले नागरिक थप आजित छन् । विद्युत् सहकारीले सञ्चालन गरिरहेका बेला नागरिक भने सरकारले देशभर उज्यालो अभियान सञ्चालन गरे पनि सदरमुकाम मार्तडीलाई बेवास्ता गरेको ज्ञापनपत्रमा उल्लेख छ । दैनिक आठ घण्टा लोडसेडिङको मार खेपिरहेका सदरमुकामवासी भने अझै जिल्लाका ग्रामीण भेगमा सल्लोको टुकीको भरमा छन् ।

नेपाल विद्युत् प्राधिकरणको वितरण शाखा कार्यालय बाजुरा मार्तडीमै स्थापना भएको तीन वर्ष भइसकेको छ । सबस्टेशनको ठेक्का भएको एक वर्षभन्दा बढी वित्दा कुनै काम हुनसकेको छैन । विद्युत् नियमित नहुँदा बाजुराका सञ्चारकर्मी प्रभावित भएका छन् । विद्युत् अनियमित हुँदा रेडियो, पत्रपत्रिका, अनलाइनलगायत सञ्चालनमा समस्या भएको पत्रकार लक्ष्मीराज पाध्यायले बताउनुभयो । जिल्लाका १३ सञ्चारमाध्यममा कार्यरत पत्रकारले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।-रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal