स्थानीय तहले स्थान छनोट गर्न नसक्दा सहरी सडक निर्माणले गति लिन सकेन

गोदावरी । कैलाली र कञ्चनपरका स्थानीय तहमा निर्माणाधीन आधुनिक सहरी सडकको निर्माणले गति लिन सकेको छैन । स्थानीय तहले स्थान छनोट गर्न नसक्दा समयभन्दा निकै ढिलो सोअन्तर्गतका योजना कार्यान्वयन भए पनि निर्माणले गति लिन नसकेको हो । ती दुई जिल्लामा योजना कार्यान्वयनको एक वर्षको अवधिमा लगभग २४ प्रतिशत भौतिक प्रगति हासिल गरेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कैलालीले जनाएको छ । चौबीस महिनामा निर्माणसम्पन्न गरिसक्ने गरी २०७७ असारमा ती योजनाको सम्झौता गरिएको थियो । काम सुरु भएका ती योजनाको भौतिक प्रगति २४ र वित्तीय प्रगति १८ प्रतिशतमात्रै रहेको जनाइएको छ ।

कैलालीका दुई र कञ्चनपुरका दुई स्थानीय तहमा ११ अर्ब बजेटमा अत्याधुनिक सहरी सडक र एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने क्षेत्रीय सहरी विकास आयोजना लागू गरिएको छ । आयोजनाका अनुसार धनगढी उपमहानगरपालिकामा पहिलो चरणमा निर्माण गर्न थालिएको सडकको भौतिक प्रगति २० र वित्तीय प्रगति १७, गोदावरी नगरपालिकामा भौतिक प्रगति १८ र वित्तीय प्रगति १५, शुक्लाफाँटा नगरपालिकामा भौतिक प्रगति ३४ र वित्तीय प्रगति ३० तथा भीमदत्त नगरपालिकामा भौतिक प्रगति २१ र वित्तीय प्रगति १० प्रतिशत भएको छ । धनगढी उपमहानगरपालिकामा कालिका कन्ट्रक्शनले सातवटा सडकको जम्मा १०.२४ किलोमिटर खण्ड ७६ करोड छ लाखमा काम गरिरहेको छ । सात सडकमध्ये चार सडकमा मात्रै काम सुरु भएको आयोजनाले जनाएको छ । तीन दशमलव ६५ किलोमिटरको चटकपुर–क्याम्पस रोड, ०.७ किलोमिटरको क्याम्पस रोड-जाखोरताल, ०.८७ किलोमिटरको डिभोटी–पिपलचौतारा र १.१५ किलोमिटरको हसनपुर रोड बनिरहेको छ भने २.७ किलोमिटरको गुल्म–चर्च रोड, १.३८ किलोमिटरको चौराहा–कैलालीनाला (चार लेन) ०.४३ किलोमिटरको मालपोत रोडमा काम सुरु भएको छैन ।

कैलालीको गोदावरी नगरपालिकामा पनि कालिका कन्ट्रक्शनले छ वटा सडकको १६ किलोमिटर खण्ड ४८ करोड १७ लाखमा निर्माण गर्ने सम्झौता गरेको छ । गेटा आँखा अस्पतालबाट जोनापुर, जोनापुरबाट कत्था उद्योग, गेटा आँखा अस्पतालबाट लालपुर, लालपुरबाट गौरी, सिर्जनानगरबाट चौकीडाँडा र चौकीडाँडाबाट चाक्ले खोलासम्मको सडक निर्माण भइरहेको सङ्घीय आयोजना कार्यान्वयन एकाइका आयोजना प्रमुख प्रविन शाहले बताउनुभयो ।

यसैगरी शुक्लाफाँटा नगरपालिकामा रमण केसी जेभीले २७ करोड ८७ लाखमा ४.७७ किलोमिटरका तीन सडक निर्माण गरिरहेको छ । झलारीबाट फुलेली, शुक्लाफाँटा नगरपालिका र पिपलाडीसम्मको तीनवटै सडकमा काम भइरहेको छ । भीमदत्त नगरपालिकामा जेडआइइसी लामा कन्ट्रक्शनले ८७ करोडमा १४ किलोमिटरका १९ सडक निर्माण गरिरहेको छ । तीमध्ये दुई सडक मदनचोक-दशरथ चोकर ट्राफिक चोक-बिपी चोक सडक चार लेनको बन्ने आयोजना प्रमुख शाहको भनाइ छ ।

कोरोना महामारी र अन्य कारणले निर्माण कम्पनीहरुले समयमा काम गर्न नपाएको हुनाले समयमा निर्माणले गति लिन नसकेको उहाँको भनाइ छ । आयोजनाअन्तर्गत धनगढीमा ४३ किलोमिटर सडक निर्माण गर्ने योजना छ । पहिलो चरणको निर्माण सम्पन्न गरिसकेपछि दोस्रो चरणको निर्माण सुरु गरिने एकाइका इञ्जीनियर पुजन न्यौपानेले जानकारी दिनुभयो । सन् २०१५ मा ११ अर्बको लागतमा आधुनिक सडक र प्रत्येक स्थानीय तहमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र बनाउने गरी एसियाली विकास बैंक (एडिबी)को ऋण अनुदानमा आयोजना लागू भएको थियो ।-रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal