निर्माण सामग्री राख्ने थलो बन्दै सार्वजनिक जग्गा, ठेकेदारले हैकम जमाउँदा पनि नगरपालिका भने मुकदर्शक

भजनी । कैलालीको टीकापुर नगरपालिका अन्य स्थानीय तहको भन्दा धेरै सार्वजनिक जग्गा भएको पालिका हुनुपर्छ । एक समुदाय एक खुला मैदान छ भने सडकको जग्गा पनि निकै फराकिलो छ ।

नेपालकै पुरानो योजनको सहरको रुपमा विकास भएको टीकापुर क्षेत्रमा खुला स्पेसको कमी छैन । तर, विडम्बना ती अधिकांश खुला मैदान र सडकका किनार वर्षौंदेखि अतिक्रमणमा छन् । विशेष गरी ठेकेदारका लागि ती खुला मैदान र सडकका किनार निकै उपयोगी बनेका छन् । बजार क्षेत्र मात्रै नभई ग्रामीण क्षेत्रका सार्वजनिक जग्गामा ठेकेदारले हैकम जमाउँदा पनि टीकापुर नगरपालिकाले कुनै प्रतिक्रिया दिन सकेको छैन ।

नगरपालिकाले लगानी गरेर निर्माण गरेको सिटी बसपार्क नगरपालिकाका लागि प्रयोगविहीन भए पनि कुनै ठेकेदारका लागि निकै उपयोगी बनेको छ । सिटी बसपार्कमा कतै बालुवाको थुप्रो देख्न सकिन्छ भने कतै ढुङ्गाको । राज्यको लाखौँ लगानी रहेका संरचना अलपत्र अवस्थामा रहँदा त्यसको फाइदा व्यक्तिले लिने गरेको स्थानीय बताउँछन् । सार्वजनिक जग्गा यसरी अतिक्रमणमा पार्नुभन्दा नगरपालिकाले निश्चित क्षेत्रमा निर्माण सामग्रीको भण्डारणका लागि ठेक्का प्रक्रियाबाट अगाडि बढेको भए नगरपालिकाको आन्तरिक आयको स्रोत थपिने उनीहरुको भनाइ रहेको छ । सिटी बसपार्क सञ्चालनमा आउने भएपछि ठूलो आशा बोकेका व्यापारी बसपार्क सञ्चालन नहुँदा व्यवसायबाट नै विस्थापित हुने अवस्था आएको बताउँछन् ।

सोही क्षेत्रमा व्यवसाय गर्दै आउनुभएका करन पुरिले बसपार्क सञ्चालनमा आउला भनेरै व्यवसाय सुरु गरेको बताउँदै अहिले बसपार्क सञ्चालनमा नआउँदा भाडा तिर्न पनि मुस्किल हुने गरेको बताउनुभयो । “बसपार्कलाई देखाएर घरधनीले भाडा महँगो बनाएका छन् । अहिले बसपार्क आएको छैन ।” उहाँले भन्नुभयो, “बसपार्क निर्माण भएको क्षेत्रमा बालुवाको थुप्रो छ । हामी व्यापारी बसपार्क आउला र व्यापार गरौँला भन्दै पर्खेको पनि वर्ष पूरा हुँदा पनि बसपार्क सार्ने कुरामा कसैको ध्यान पुगेको छैन ।”

हुन त नगरपालिकाकी राजस्व शाखा प्रमुख दिला उपाध्याय रेग्मी नगरपालिका क्षेत्र भित्रको अधिकांश सार्वजनिक जग्गा ठेकेदारको कब्जामा भएको स्वीकार गर्नुहुन्छ । नगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण सामग्री राखेको भन्दै थुप्रै गुनासा आएको जनाउँदै उहाँले त्यसको नियन्त्रणका लागि नगरपालिकाले तत्काल ‘एक्सन’ लिने बताउनुभएको छ । “हामी कस्ले कहाँ कति जग्गा अतिक्रमण गरेर निर्माण सामग्री राखेको छ त्यसको जानकारी लिएर त्यो सामग्री त्यहाँबाट हटाउन पत्राचार गर्छौं ।” उहाँले भन्नुभयो, “हामीले भनेको समयमा निर्माण सामग्री नउठाएको अवस्थामा उक्त सामग्री नियन्त्रणमा लिने र अन्य कारबाहीसमेत गर्ने तयारी भइरहेको छ ।”

उहाँले सार्वजनिक जग्गाको संरक्षण गर्ने जिम्मा नगरपालिकाको भएको जनाउँदै यसका लागि नगरपालिकाले रणनीति अपनाउने बताउनुभयो । राजस्व शाखा प्रमुख रेग्मीले पटकपटक नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण सामग्री थुपार्ने कामलाई बन्द गर्न सूचना जारी गर्दा पनि त्यसको सुनुवाइ हुन नसकेको बताउनुभएको छ ।-रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal