पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा, पर्यटकीय क्षेत्रको विकासमा जुट्यो विकास समिति

कञ्चनपुर । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड दिएको छ । नगरपालिकाले पाँच वर्षको अवधिमा पर्यटकको सुविधाका लागि सडक, पुल, पदमार्ग निर्माणसँगै नयाँ पर्यटकीय गन्तव्यको पहिचानको काम पनि गरेको हो । पर्यटन महोत्सव आयोजना गरी शुक्लाफाँटा निकुञ्जमा पर्यटकको आवागन बढाएका छौँ”, नगरप्रमुख सुरेन्द्र विष्टले भने , “नगर पर्यटन विकास समिति गठन गरी पर्यटकीय क्षेत्रको विकासमा जुटेका छौँ । उनका अनुसार ७७ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी गड्डाचौकी नाकामा ७७ फिट अग्लो स्तम्भमा नेपालको झण्डा राखी उद्यान निर्माण गरिएको छ ।

नगरपालिकाको १९ वटै वडाको प्रतिनिधित्व हुने गरी वडा नं १ स्थित रौटेला धाममा १९ फिटको त्रिशूलसहित उद्यान निर्माण गरिएको छ । झोलुङ्गे पुलमा सौर्यबत्ती जडान गरिएकाले राति पर्यटकलाई पुल क्षेत्रमा हिँडडुल गर्न सहज भएको छ । भक्तजनलाई धार्मिक पर्यटकीय क्षेत्रमा सहजरुपले पुग्न बाटो निर्माण गरिएका छन् । रौटेला, विष्णुमन्दिर, भम्कनीधाम, झिलमिलालगायत क्षेत्रलाई पाँच वर्षको अवधिमा सडक सञ्जालमा जोडिएको छ । नगरपालिकाका १९ वटै वडालाई जोड्नका लागि शुक्लाफाँटा पर्यटनमार्ग पनि निर्माण गरिएको छ । उक्त मार्गले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई सहज भएको छ । बाह्रमासे झर्ना, कालिताल, कालोढुङ्गा, बाउन्ने कोठे दरबार, सेल्फीडाँडा, साइलेन्ट रिभर, खन्याखोला लिङ्गालगायत नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी संरक्षणका कार्यक्रम अगाडि बढाइएका छन् । बाह्रकुण्डा क्षेत्रका पुरिँदै गएका १२ वटा ताललाई पुरानै स्वरुपमा फर्काइ पानी भरिएको नगरप्रमुख विष्टको भनाइ थियो ।

महाकाली नदीको बहुउपयोगअन्तर्गत महाकाली नदीमा याफ्टिङ सफल परीक्षण पछि खल्लाका १५ युवालाई ¥याफ्टिङसम्बन्धी तालिम प्रदान गरिएको छ । महाकाली नदीको सुनसान क्षेत्रमा पर्यटकीय सम्भावनाको स्थल पहिचान गर्नाका साथै ¥याफ्टिङका माध्यमबाट प्रचारप्रसार पनि गरिएको छ । “नगरपालिकाको वडा नं ९ ब्रह्मदेवमा बहुसांस्कृतिक सङ्ग्रहालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ”, उनले भने, “सङ्ग्रहालय निर्माणमा सहयोग गरेका छौँ । यसबाट यस क्षेत्रको रहनसहन, संस्कृति, सामाजिक परिवेश, धार्मिक कार्यबारे आन्तरिक तथा बाह्य पर्यटकले जानकारी लिन सक्ने छन् । ”चुरे फेदीमा रहेको रमणीय पर्यटकीय क्षेत्र झिलमिलामा पर्यटकको सुविधाका लागि सौर्यबत्ती र पदमार्ग निर्माण गरिएको छ । भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणका लागि नगरपालिकाका तर्फबाट रु ५० लाख उपलब्ध गराइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ठूलो बथानका रुपमा रहेको बाह्रसिङ्गालाई चिनाउन प्रचारप्रसारसँगै नगरको ब्राण्ड घोषणा गरिएको छ ।

महाकाली नदीमाथिको झोलुङ्गे पुल हेर्न पुग्ने पर्यटकको सहायताका लागि नदी किनारमा सजावट तथा भौतिक संरचना निर्माण गरिएको छ । नदी किनारामा स्मार्ट सौचालय, स्मार्ट लाइटसँगै डिजिटल साइनेज तथा सूचना बोर्डको व्यवस्था गरिएको छ । पर्यटकीय क्षेत्रको विकासमा योगदान गर्दै आएको नगरपालिकालाई पर्यटन प्रवद्र्धन सङ्गठन टिपिओ को सदस्यतासमेत उपलब्ध गराइएको छ । नगरपालिका क्षेत्रको पर्यटकीय क्षेत्रका रुपमा रहेको विष्णु मन्दिरदेखि राई ढुङ्गासम्म आठ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । नगर क्षेत्रको सुविधाका लागि १७२ वटा सौर्य सडक बत्ती जडान गरिएका छन् । यसैगरी नगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा उज्यालो भीमदत्त अभियानअन्तर्गत स्मार्ट लाइट महेन्द्रनगर बजारका मुख्य चोक पुष्पलाल चोक, बसपार्क, बाह्रसिङ्गा चोक, झोलुङ्गे पुल, नगरपालिका कार्यालय परिसर, मदन चोकमा स्मार्टलाइट र क्याम्पस रोडमा सौर्य बत्ती जडान गर्न थालिएको छ ।

यसैक्रममा नगर क्षेत्रभित्रका ८४ वटा मन्दिरमा पूर्वाधारका संरचना निर्माण एवं मर्मत गरिएको नगरपालिकाका इन्जिनियर हिमालय ऐरले बताए । उनका अनुसार पर्यटकलाई आराम गर्न ११ वटा चौतारा निर्माण गरिएका छन् । नगरपालिका को वडा नं १, २, ४, ८, ९, ११, १३, १४, १६ र १८ मा गरी ११ वटा पार्क निर्माण गरिएको छ । उनन्तीस किलोमिटर धार्मिक पर्यटन मार्गको दुई दशमलव पाँच किलोमिटर क्षेत्रमा कालोपत्रे गरिएको छ । बाँकी क्षेत्रमा निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत सडक डिभिजन कार्यालयको सहकार्यमा ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको इन्जिनियर ऐरले जानकारी दिए ।

पाँच वर्षकै अवधिमा शुक्लाफाँटा पर्यटन मार्गको पाँच दशमलव ७५ किलोमिटर क्षेत्रमा कालोपत्र गरिएको छ । जिल्ला र नगरलाई हवाई सेवाद्वारा जोड्न र पर्यटक भित्र्याउन मझगाउँ विमानस्थललाई सङ्घ, प्रदेश, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाको सहलगानीमा विमानस्थल पुनः निर्माण गर्न थालिएको छ । नमूना सडक तथा सडक सौन्दर्य बढाउन सिद्धनाथ विज्ञान क्याम्पस मार्गमा रोड साइड गार्डेनिङ बनाइएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal