धनगढी उपमहानगरपालिकाको प्रमुखमा दश र उपप्रमुखमा सात जनाको उम्मेदवारी

सुदूरपश्चिम । आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा १० र उपप्रमुखमा सात जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा राजनीतिक दलका सहित स्वतन्त्र उम्मेदवारसमेत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपमहानगर प्रमुखमा सत्ता साझेदार दल नेपाली कांग्रेसका तर्फबाट नृपबहादुर ओडले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा (एमाले) बाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्तबहादुर विश्वकर्मा, सचेत पार्टी नेपालका भारती थापा, जनता समाजवादी पार्टीका कलेन्द्र ऐर, राष्ट्रिय जनमोर्चाका अञ्जना श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरी र स्वतन्त्र गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।

उपमहानगरको उपप्रमुखमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपप्रमुखमा नेकपा (एमाले) का कन्दकला राना थारू, नेपाल परिवार दलका विष्णुकुमारी विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीका सावित्रा चौधरी, राप्रपाका दुर्गादत्त पन्त, विवेकशील साझा पार्टीका विमलाकुमारी पन्त ओझा र स्वतन्त्रबाट कांग्रेसका नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका अन्य १२ पालिकामा समेत उम्मेदवारी दर्ताको काम गए अबेर राति सम्पन्न भएको छ ।

थेगिनसक्नु भीड

उम्मेदवारीको मनोनयन दर्ता गराउने सोमबार अन्तिम दिन जिल्लाका पालिका तहमा मनोनयन गर्न आउनेको थेगिनसक्नु भीड लागेका थिए । थेग्नै नसक्ने गरी भीड लागेपछि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको काम पनि अबेर रातिसम्म भएका थिए । उम्मेदवारी दिन चाहने अधिकांश एकसाथ निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि देखिएको भीडले उम्मेदवारी दर्ताको काम केही असहजसमेत बनेको देखिन्थ्यो । कैलारी गाउँपालिकाका निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले भने, “सर्वदलीय बैठकमा उम्मेदवारी दर्ताका लागि पालैपालो आउन आग्रह गरेका थियौँ, तर आज उनीहरु एकसाथ आउँदा दर्ता काममा केही असहजता महसुस भएको छ ।”

भीड लागे पनि उम्मेदवारी दर्ताको काम शान्तिपूर्ण र उत्साहजनक वातावरणमा भएको निर्वाचन अधिकृतले जानकारी दिए । सत्ता साझेदार दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले जिल्लाका १३ पालिकाको प्रमुख तथा उपप्रमुखमा तालमेल गरेर उम्मेदवारी दिने सहमति गरेका थिए । सहमतिअनुसार कांग्रेसले सात, माओवादीले चार र एकीकृत समाजवादीले दुई पालिकाको प्रमुखमा उम्मेदवारीको मनोनयन दर्ता गराएको छ । यी दलबीच पालिका तहका प्रमुख, उपप्रमुखमा तालमेल भए पनि सहमति जुट्न नसकेका वडा तहका पदमा भने मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति गरेका थिए ।

प्रमुखमा एउटै पार्टीका दुई जनाको उम्मेदवारी

जिल्लाको लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेसका तर्फबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका भक्तबहादुर थापा र सुशीला शाहीले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएको हो । उनीहरु दुवैले पार्टीको सिफारिसपत्रसहित उम्मेदवारी दर्ता गराएको जनाइएको छ । उम्मेदवारी दर्ता गराएका थापाले आफूले कांग्रेस प्रदेश समितिको आधिकारिकपत्रसहित उम्मेदवारी दर्ता गराएको बताए ।

उनले भने, “आफूले प्रदेश समितिले दिएको टिकट र आधिकारिकपत्रसहित उम्मेदवारी दर्ता गराए, पछि उनी सुशीला शाहीले पनि पार्टीकै तर्फबाट उम्मेदवारी दर्ता गराएको सुन्नमा आएको छ ।” पार्टीको आधिकारिक उम्मेदवारले मात्र पार्टीको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने जनाइएको छ । जिल्लाका १३ पालिका तहका झण्डै ६८९ जनप्रतिनिधिका लागि निर्वाचन हुन लागेको हो । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal