स्थानीयवासीले अनुमतिबिना नै यार्सागुम्बा सङ्कलन गरिँदै

दार्चुला । दुधिवन, अपिफेद, सातगङगा चाइमेटलालगायत क्षेत्रमा स्थानीयवासीले अनुमतिबिना यार्सागुम्बा सङ्कलन गरिरहेका छन् । हरेक वर्ष अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि जेठ दोस्रो सातादेखि अनुमति दिने गर्छ । यस वर्ष यहाँका सङ्कलक वैशाख दोस्रो साता नै सङ्कलन क्षेत्रमा पुगेका व्यास गाउँपालिका–२ का नरेन्द्रसिह धामीले बताए । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अनुमतिपत्रबिना सङ्कलन गर्न नपाइने जनाएको छ । प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले वैशाख १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि अनुमतिपत्र वितरण सुरु गरिएको बताए । अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालय खलङ्गा, राप्ला सेक्टर कार्यालय सुन्सेरा, खण्डेश्वरी सेक्टर खण्डेश्वरी, बिटुले रेञ्जपोष्ट, खार रेञ्जपोष्ट, सिप्टी पोष्ट, पारिबगड पोष्ट र हिकिला पोष्टबाट अनुमतिपत्र वितरण भइरहेको जनाएको छ ।

सङ्कलन गर्न भने जेठ दोस्रो सातादेखि पाइने कार्यालयले जनाएको छ । संरक्षण क्षेत्रभित्रका यार्सागुम्बा सङ्कलकले प्रतिव्यक्ति रु. ५००, संरक्षण क्षेत्र बाहिरकाले रु. दुई हजार र जिल्ला बाहिरकाले परिचयपत्र लिनका लागि रु. तीन हजार तिनुपर्ने व्यवस्था छ । अनुमतिबिना सङ्कलन गरे यार्सागुम्बा जफत गरी कानुन बमोजिम कारबाही गरिने कार्यालयले जनाएको छ । दार्चुलाको व्यासको अपिफेद, दूधिवन, अपिहिमालको चाइमेटला, सातगङ्गा, लोलु, रोखापु, धरमघरलगायत क्षेत्रमा यार्सागुम्बा पाइन्छ । जिल्लाबाट वार्षिक ५ देखि ७ क्वीन्टलसम्म यार्सागुम्बा निकासी हुन्छ । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal