छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र सुरक्षाकर्मी पठाइने

दार्चुला । जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र सुरक्षाकर्मी पठाइने भएको छ । छाङ्गरु र तिङ्करमा सुरक्षाकर्मी लैजान सोमबार हेलिकप्टर आउन लागेको हो । नेपालतिर घोरेटोबाटो नहुँदा छाङ्गरु र तिङ्करमा सुरक्षाकर्मी हेलिकप्टरमार्फत पठाउन लागिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

हेलिकप्टरमार्फत तिङ्करका लागि प्रहरी पठाइने छ । तिङ्करबाट प्रहरी गत मङ्सिरमा हिमपातपछि सदरमुकाम खलङ्गा झरेका थिए । तिङ्करका स्थानीयवासी सदरमुकाम खलङ्गाबाट बसाइँ सरेर गाउँ फर्किसकेका छन् हेलिकप्टरमार्फत छाङ्गरु र तिङ्करमा निर्वाचनको लागि खटिने कर्मचारी, मतपेटिका, मतपत्र तथा सुरक्षाकर्मीको खाद्यान्न ढुवानी गर्ने तयारी गरिएको छ ।

निर्वाचन सामाग्री बुझ्दै मतदान अधिकृत खटिए

नौ वटा स्थानीय तहको निर्वाचनका लागि निर्वाचन सामाग्रीसहित मतदान अधिकृत र कर्मचारी खटिन थालेका छन् । टाढाका मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र कर्मचारीले निर्वाचन सामग्री बुझेर खटिएका हुन् ।आइतबारदेखि मतदान अधिकृतले निर्वाचन सामग्री आफ्नो जिम्मेवारीमा लिएर गएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले बताए । टाढाका स्थानीय तहका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलाई पहिलो प्राथमिकतामा राखेर निर्वाचन सामग्री बुझाइएको धामीले बताए ।

जिल्लामा ११० मतदानस्थल र १३९ मतदान केन्द्र छन् । निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतका लागि दुई दिन अभिमुखीकरण कार्यक्रम गरेर उनीहरु आफ्नो मतदान केन्द्रमा खटिन थालेको धामीको भनाइ छ । जिल्लाका लागि कुल ९९ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँको कूल मतदाता सङ्ख्या ८८ हजार २८५ रहेको छ ।

मतपत्र कुनै कारण तलमाथि हुन गएको खण्डमा भनी कुल मतदाताको पाँचदेखि १० प्रतिशत मत बढी आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी गणेश विष्टले जानकारी दिए । आयोगको नीतिअनुसार नै मतदाताको सङ्ख्याभन्दा केही बढी मतपत्र जिल्ला आएको हो । वैशाख २७ गतेसम्म सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतहरुलाई मतपत्र दिएर पठाइसक्ने विष्टले बताए । मतपत्रको ढुवानी नेपाली सेनाले गर्नेछ ।

निर्वाचन अवधिभर मदिरा बिक्री तथा सेवनमा रोक

दार्चुलामा निर्वाचन अवधिभर मदिरा पदार्थ बिक्रीवितरण तथा सेवन गर्न रोक लगाइएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जिल्लामा मादकपदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार यही वैशाख २५ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम मत परिणाम घोषणा नभएसम्म मादकपदार्थको बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको छ ।

उक्त कार्यलाई बेवास्ता गरी बिक्री वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन कानूनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका, २०७८ को दफा ६ (थ) बमोजिम पूर्ण निषेध गरिएको जनाएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal