मतदानस्थलमा निर्वाचनको तयारी गरिँदै, पाँच लाख २५ हजार १२५ मतदाता

सुदूरपश्चिम । कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका लागि तोकिएका मतदानस्थलमा मतदान केन्द्र निर्माण, नयाँ मतदाताको परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम थालिएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले तोकिएका मतदानस्थलमा मतदान केन्द्रको निर्माण कार्यका साथै नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम सुरु भइसकेको जानकारी दिए । उनले भने, ‘‘धेरै मतदान केन्द्रमा बुथ निर्माण भइसक्यो,बाँकी मतदान केन्द्रमा बिहीबारसम्म निर्माण पूरा हुँदैछ ।’’

जिल्लाका अधिकांश विद्यालयका भवनलाई मतदानस्थल र केन्द्र तोकिएको छ । जिल्लाका १३ पालिका तहमा कूल पाँच लाख २५ हजार १२५ मतदाता पुगेका छन् । पाँच वर्ष अघिको स्थानीय तह निर्वाचनमा चार लाख तीन हजार २८० मतदाता थिए । जिल्लाको दक्षिणपूर्वी सीमा क्षेत्रको जानकी गाउँपालिकाका निर्वाचन अधिकृत विश्वदिप बेश्राले निर्वाचनस्थलमा तयारी पूरा हुने चरणमा रहेको बताए । तयारीका क्रममा निर्वाचनस्थलमा भएको सर्वदलीय बैठकमा मौन अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिता, मतगणना कार्य र मतगणना प्रतिनिधिको नामावली लगायतका विषयमासमेत छलफल गरिएको बेश्राले बताए ।

गौरीगङ्गा नगरपालिकामा खटिनु भएका निर्वाचन अधिकृत नीराजन पाण्डेयले मङ्गलबार आयोजित सर्वदलीय बैठकमा निर्वाचन आचारसंहिता, मतगणना कार्य, मतदाता शिक्षालगायका बारेमा जानकारी दिइएको बताए । गएरातिदेखि निर्वाचनको मौन अवधि सुरु भएसँगै प्रत्यासीहरुले देखिने गरी प्रचारप्रसारका काम रोकेका छन् ।

निर्वाचन गराउन जिल्लाका सबै १३ पालिकामा झण्डै तीन हजार ९०० कर्मचारी परिचालन गरिएको छ । यी पालिका तहमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्रको व्यवस्था गरिएको छ । ५२ मतदानस्थललाई अति संवेदनशील, ५३ मतदानस्थललाई संवेदनशील र बाँकी १३१ मतदानस्थललाई सामान्य मतदानस्थलको सूचीमा राखेर सोही बमोजिमको सुरक्षा व्यवस्थापन गरिएको छ ।

जिल्लाका पालिका तहका ६५६ पदका लागि चुनाव हुँदैछ । यसका लागि जिल्लाभरी तीन हजार ७२ जना प्रतिस्पर्धी छन् । मतदानको ४८ घण्टा अघि अर्थात् गएरातिदेखि नै गौरीफन्टा, खक्रौला लगायतका सीमा नाकामा आवागमन बन्द गरिएको छ । अत्यावश्यक सेवा प्रवाहको हकमा भने सीमा नाकामा आवागमन गर्न बाधा अवरोध नपुग्ने बताइएको छ । यस्तै गएरातिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिराको बिक्री वितरण तथा सेवन गर्न स्थानीय प्रशासनले पूर्ण रुपमा निषेध गरेको छ । —रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal