कैलालीमा ‘कर्णाली निर्माण सेवा’को मनपरी, ३ पटक म्याद थप गर्दापनि आयोजनाको काम अझै सकेन

कैलाली । कैलालीको टीकापुर नगरपालिकाको परिसरभित्र माटो पटानी, घेरा पर्खाल निर्माण तथा दुई प्रवेशद्वार लगायतका संरचना निर्माणको कामका लागि नगरपालिकाले २०७७ असार ३ गते एउटा निर्माण कम्पनीलाई ठेक्का दियो ।

ठेक्का पाएको कर्णाली निर्माण सेवाले काम सुरुआत गरेको तीन वर्ष पुगेको छ । सम्झौतामा नगरपालिकाले २०७७ असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने जनाउँदै सम्झौता गरेको थियो । अहिलेसम्म नगरपालिकाले त्यहीँ आयोजनाको लागि सम्झौता भएको मितिदेखि हालसम्म तीन पटक म्याद थप गरिसकेको छ । निर्माण कम्पनीले नगरपालिकाको भित्री परिसरमा माटो पटानी, ग्राभेल हाल्ने काम सम्पन्न गरेको भने पनि अझै कैयौँ ठाउँमा खाल्डाखुल्डी रहेका छन् । घेरा पर्खालको काम पनि पूर्णरुपमा सम्पन्न भएको छैन । दुईवटा प्रवेशद्वार निर्माण गर्नुपर्ने भए पनि एउटा प्रवेशद्वारको काम यतिबेला भइरहेको छ । पश्चिम तिरको प्रवेशद्वार निर्माणको काम सुरु भएपनि दक्षिणतिरको प्रवेशद्वार निर्माणको अझै टुङ्गो लागेको छैन ।

नगरपालिकाले उक्त आयोजनाको लागि रु ७५ लाखको ठेक्का सूचना निकालेको थियो । सो निर्माण कम्पनीले ५५ लाख ४० हजार ८७६ रुपैयाँ १३ पैसामा ठेक्का पाएको थियो । आयोजनाको काम सम्झौताको सयमा सम्पन्न नहुँदा नगरपालिकाले २०७७ चैत मसान्तसम्मका लागि ठेक्काको म्याद थपेको योजना शाखा प्रमुख नवराज जोशीले जानकारी दिएका छन् । त्यो समयावधिमा पनि काम नसकिएपछि पुनः २०७८ पुस मसान्तसम्म म्याद थप भएको थियो । अहिले आयोजनाको म्याद सकिएको पनि पाँच महिना भइसकेको छ । “नगरपालिकाबाट काम छिटो सम्पन्न गर्न ताकेता पत्र समेत पठाइसकेका छौं । मौखिकरुपमा जानकारी गराउँदा त्यसको कार्यान्वयन नभएपछि पत्र नै पठाउनुपरेको हो ।” योजना शाखा प्रमुख जोशीले भने, “अहिले काम गरिरहेको छ । अब प्रवेशद्वार निर्माणको काम छ । काम भइरहेको छ । हेराँै कतिसम्म गर्न सक्छन् ।”

निर्माण कम्पनीले नगरपालिकाबाट हालसम्म रु २२ लाख ५२ हजार भुक्तानी भइसकेको छ । नगर उपप्रमुख खडकबहादुर शाह नगरपालिकाका इन्जिनियरहरुलाई कामको गुणस्तर र समयमै काम सम्पन्न नभए त्यसको जवाफ निर्माण कम्पनीका सञ्चालकले नभई नगरपालिकाका इन्जिनियरहरुले दिनुपर्ने बताउँछन् ।

निर्माण कम्पनीका सञ्चालक नरबहादुर ठकुल्लाले सम्झौता नै आर्थिक वर्षको अन्तिममा भएको जनाउँदै कोरोनाको कारण पनि कामका ढिलाइ भएको बताएका छन् । उनले अन्तिम पटक नगरपालिकालाई आयोजनाको म्याद थपका लागि पत्र पठाएको र मङ्सिरसम्म काम सम्पन्न गर्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal