कैलालीमा हावाहुरीले केराखेतीमा क्षति, सयौँ बिघा नष्ट हुँदा किसानको गुनासो

टीकापुर । कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ । त्यस्तै टीकापुर–४ का भल्लुराम चौधरीको दुईकोठे कच्ची घर र भान्सामा रुख ढलेर क्षति भएको छ । हावाहुरीका कारण यहाँ सयौँ घरका छानामा भएका जस्तापाता उडाएका, विद्यालयका छाना उडाएका र ठाउँ–ठाउँमा बिजुलीका पोल ढलेका छन् ।

हावाहुरीकै कारण जिल्लामा केराखेतीका क्षति भएको छ । हावाहुरीका कारण टीकापुर क्षेत्रमा मात्रै सयौँ बिघा केराखेती नष्ट भएको किसानको गुनासो छ । टीकापुरका केरा किसान टेकेन्द्र धामीको १० बिघामा लगाएको केराखेती हावाहुरीले ढालेको छ । केरा उत्पादन हुने समय नजिकिँदै गर्दा हावाहुरीले केराखेतीमा नोक्सानी गरेपछि किसान पीडामा छन् । टीकापुर केराखेतीका लागि उर्वर भूमि मानिन्छ । यहाँ सयौँ बिघा जमिनमा खेती गरिएको छ । हावाहुरीले कतिपय किसानका पूरै बारी ढालेको छ ।

यसका साथै हावाहुरीले तरकारी खेतीमा समेत नोक्सानी गरेको किसानको गुनासो छ । “लहरे तरकारी बाली सबै ढालेको छ । लटरम्म फलेका बोडी, फर्सी, काक्रा, लौका, करेलाजस्ता तरकारीमा नोक्सान भएको छ”, किसान झपिन्द्र चौधरीले भने, “तरकारी बारी पूरै हावाहुरीका कारण धुलाम्मे भएको छ । माटो र बालुवा आएर बारीमा भरिएको छ ।”

हावाहुरीका कारण क्षति भएका विवरण आइरहेकाले क्षतिको विवरण सङ्कलन गरी नगरपालिकाले पीडामा रहेका किसानलाई राहतका कार्यक्रम ल्याउने टीकापुर नगरउपप्रमुख खड्कबहादुर शाहले बताए । “जताततैबाट क्षति भएको विवरण आउन थालेका छन्”, उनले भने, “आज कार्यपालिका बैठक र विपद् व्यवस्थापन समितिको बैठक बसेर राहतका कार्यक्रम ल्याउँछौँ ।” हावाहुरीसँगै वर्षा भएपछि भने यहाँ शीतलता महसुस भएको छ । अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएका नागरिकले वर्षा भएपछि केही शीतलता महसुस गरेका छन् । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal