बझाङमा तरकारी उत्पादन बढ्दा अछाममा घट्यो

काठमाडौँ । केन्द्रीय बैंकले गरेको अध्ययनअनुसार तरकारीको समग्र उत्पादन सबैभन्दा बढी बझाङ जिल्लामा भएको पाइएको छ । उक्त जिल्लामा तरकारी उत्पादन ४९ दशमलव ८२ प्रतिशतले वृद्धि भएको छ । यस्तै अछाममा तरकारी उत्पादन ३४ दशमलव २० प्रतिशतले घटेको छ । फलफूल तथा मसला बालीको समग्र उत्पादनमा छ दशमलव २५ प्रतिशतले बढेको छ । यस समूहअन्तर्गत केरा उत्पादन ३० दशमलव ३७ प्रतिशत, अन्य फलफूल उत्पादन २६ दशमलव ६७ प्रतिशत, मसला उत्पादन सात दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ । यस्तै आँप उत्पादन ४७ दशमलव ६९ प्रतिशत, स्याउ उत्पादन दुई दशमलव ९९ प्रतिशत, र सुन्तला उत्पादन एक दशमलव ३२ प्रतिशतले घटेको छ । कञ्चनपुर जिल्लामा फलफूल तथा मसला बालीको समग्र उत्पादन ४३दशमलव२४ प्रतिशतले बढेको छ भने डडेल्धुरा जिल्लामा सोही वस्तुको उत्पादन ४१ दशमलव ४४ प्रतिशतले घटेको छ ।

क्षेत्रगत कृषि कर्जाअन्तर्गत २०७८ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०७८ असार मसान्तको तुलनामा २३ दशमलव ३८ प्रतिशतले वृद्धि भई रु. १४ अर्ब ९० करोड ८१ लाख पुगेको छ । गत वर्ष यस्तो कर्जा ४० दशमलव ७१ प्रतिशतले वृद्धि भएका थिए । कूल कृषि कर्जामध्ये सबैभन्दा बढी रु. पाँच अर्ब ३१ करोड ६० लाख कर्जा अन्य कृषि तथा कृषिजन्य सेवामा प्रवाह भएको छ भने सबैभन्दा कम रु. १९ लाख ८० हजार सनपाटमा प्रवाह भएको छ ।

कूल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश १० दशमलव १० प्रतिशत छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कैलाली जिल्लाको अंश ६५ दशमलव ६८ प्रतिशत, कञ्चनपुरको १९ दशमलव ४० प्रतिशत, डडेल्धुरा, दार्चुला, बझाङ, डोटी, बैतडी, अछाम, तथा बाजुराको अंश क्रमशः तीन दशमलव ८४ प्रतिशत, दुई दशमलव ६३ प्रतिशत, एक दशमलव ९७ प्रतिशत, दुई दशमलव ६८ प्रतिशत, एक दशमलव ४६ प्रतिशत, एक दशमलव ४६ प्रतिशत र शुन्ना दशमलव ८८ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०७७ असार मसान्तको तुलनामा एक दशमलव १९ प्रतिशतले कमी भई रु. नौ अर्ब १२ करोड ६३ लाख पुगेको छ । गत वर्ष यस्तो कर्जा १४२ दशमलव ०१ प्रतिशतले वृद्धि भएका थिए ।

धान बालीका ब्लक र पकेट क्षेत्रमा उन्नत बीउ र रासायनिक मलमा उपलब्ध गराइने अनुदान तथा उन्नत जातको बीउको प्रयोगका कारण धानको उत्पादनमा करिब पाँच प्रतिशतले वृद्धि हुने अध्ययनले देखाएको छ । यस्तै गहुँको उत्पादनमा सात प्रतिशतले वृद्धि हुने अनुमान छ । पकेट र ब्लक विकास कार्यक्रममार्फत तरकारी उत्पादनमा आधुनिक प्रविधिको प्रयोग र सिँचाइ सुविधामा वृद्धि हुनाका साथै विभिन्न जिल्लामा मुख्यमन्त्री नमूना गाउँ कार्यक्रम लागू भएका कारण वर्षे तरकारीको उत्पादनमा करिब १० प्रतिशतले वृद्धि हुने अनुमान छ ।

पहाडी जिल्लामा स्याउ जोन, मुख्यमन्त्री नमूना फलफूल गाउँजस्ता कार्यक्रम लागू भएका कारण फलफूलको समग्र उत्पादन छ प्रतिशतले वृद्धि हुनसक्ने विज्ञको अनुमान छ । नश्ल सुधार, बजार व्यवस्थापन, उन्नत पशु आयात, कृषक पशुपालनतर्फ आकर्षित हुनु, सहुलियत ब्याजदरमा कृषि कर्जा तथा पशु बीमा योजना उपलब्ध हुनाका साथै किसान लेयर्स तथा ग्रामीण कुखुरापालनतर्फ आकर्षित भएका छन् । स्थानीयस्तरमा नै मिनी ह्याचरीको स्थापना हुनु, पशुपालनमा मुख्यमन्त्री नमूना कार्यक्रम, मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन जस्ता कार्यक्रम सञ्चालनमा आएका कारण दूध उत्पादनमा सात दशमलव चार प्रतिशत, मासु उत्पादन सात दशमलव तीन प्रतिशत, अण्डा उत्पादन पाँच प्रतिशतले वृद्धि हुने अनुमान भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका विज्ञले गरेको अध्ययनमा समेटिएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal