जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान, बिरामीको उपचारमा सहजता होस् भन्ने उद्देश्य

डोटी । जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उक्त अक्सिजन प्लान्टको एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । उक्त प्लान्ट उद्घाटनका अवसरमा राज्यमन्त्री रैकाले अक्सिजनका लागि यहाँका नागरिकले भोग्दै आएका समस्या अब सधैँका लागि समाधान भएको बताए । उनले भने, “मानिसको जीवनमा अक्सिजन नभई नहुने भएकाले अक्सिजन नहुँदा डोटीमा निकै समस्या भएको थियो, अब अस्पतालमै अक्सिजन प्लान्ट जडान भएको छ । बिरामीलाई सहज हुने छ ।” उनले जिल्ला अस्पतालको स्तरोन्नतिसहित आवश्यक वृत्ति विकासका लागि प्रदेश सरकार सधै सकारात्मक रहेको बताए ।

गत आर्थिक वर्षमै जडान हुनुपर्ने भए पनि काम ढिलो भएका कारण हाल आएर प्लान्ट जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए । सुदूरपश्चिम प्रदेश सरकारबाट अक्सिजन प्लान्ट जडानका लागि रु. ८० लाख बजेट छुट्याइएको भए पनि ठेक्कामार्फत रु. ६५ लाख २५ हजारमा जडान गरिएको अस्पताल प्रशासनले जनाएको छ । अक्सिजन प्लान्ट स्थापनासँगै अब अस्पतालमै अक्सिजन उत्पादन हुने छ । उक्त प्लान्ट २४ घण्टामा १४ किलोका १० वटा सिलिण्डर भर्न सक्ने क्षमताको रहेको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए । उनका अनुसार केही दिनभित्रमै अस्पतालका २५ बेडमा सिधा अक्सिजन आपूर्ति गरिने छ ।

विगतमा अक्सिजन अभावका कारण महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण जिल्लामा दर्जनौँले ज्यान गुमाएका थिए । आउने दिनमा कोरोनाजस्ता घातक रोगको प्रकोप देखिएमा बिरामीको उपचारमा सहजता होस् भन्ने उद्देश्यका साथ उक्त अक्सिजन प्लान्ट जडान गरिएको हो । जिल्लामै अक्सिजन प्लान्ट सञ्चालनमा आउनु खुसीको कुरा भएको स्थानीयवासी अमरबहादुर साउदले बताए । अक्सिजन प्लान्ट स्थापनासँगै अब जिल्ला अस्पताल डोटीले यहाँका धनगढी, नेपालगञ्जलगायतका सहरमा गएर अक्सिजन खरिद गर्नुपर्ने बाध्यता हटेको छ । जसका कारण अस्पतालले खरिददेखि ढुवानीसम्मको अक्सिजनमा गर्दै आएको खर्चमासमेत बचत अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट नीराजन श्रेष्ठले बताए । अस्पतालले रु. ७०० देखि लिएर एक हजारसम्मका दरले सिलिण्डर खरिद गर्ने गर्दै आएका थिए । खरिद गरिसकेपछि पनि ढुवानी गर्दा त्यत्तिकै रकम खर्च लाग्ने समस्या पनि समाधान भएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal