२० मिटरको खोलामा ४ मिटरको कल्भर्ट, दोब्बर डुबानको जोखिम बढेपछी स्थानिय चिन्तामा…

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । कैलालीमा करिब २० मिटरको खोलामा ४ मिटरको कल्भर्ट निर्माण गरिएपछी स्थानिय दोब्बर डुबानको जोखिममा परेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ७ शान्तिटोल र श्रीलंका टोलको बिचमा पर्ने शिवराजको खोलामा १३ लाखको साँघुरो कल्भर्ट निर्माण भएपछि डुबानको जोखिम दोब्बर बढेको हो ।

बर्खायामको सुरुमै पुलको बेस बगायोः
शुक्रबार राती सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा वर्षा भयो । पहाडी क्षेत्रमा वर्षा भएसँगै तराईका ठूला तथा साना खोलामा पानीको बहाव बढ्नु स्वभाविक थियो । तर शिवराजको खोलमा बढेको पानीको सतह भने अलिक अस्वभाविक नै थियो । त्यसैमाथी दुई हप्ता अगाडी मात्रै निर्माण सकिएको भनिने ४ मिटर लम्बाईको साँघुरो कल्भर्टले करिब २० मिटरको खोलामा आएको बाढी थेग्ने कुरै भएन । पानी बस्तीमा पस्न थाल्यो, कल्भर्टको बेस नै बगायो । बस्तीमा पसेको पानीले खाद्यान्न, लुगाकपडा सँगै अन्य क्षति गरेको स्थानियले बताएका छन् ।स्थानीयहरुको सहयोगमा ज्यान जोगिएपनि बर्खाभरी यो त्रासले सताईरहने स्थानीय राधिका उपाध्यायले बताएकी छिन् ।

१३ लाखको बजेटमा पनि राजनितिक हस्तक्षेपः
गोदावरी नगरपालिका र वडाको बजेटमा निर्माण सम्पन्न भएको उक्त खगेन्द्र उपाध्यायको घर नजिक शिवराजको खोलामा कल्भर्ट निर्माण आयोजनाको कुल लागत १३ लाख बढी रहेको छ । उक्त १३ लाखको बजेटमा पनि राजनितिक हस्तक्षेप भएको स्थानियले आरोप लगाएका छन् । निर्माणका लागि उपभोक्ता समिति गठनदेखी विभिन्न निर्णय गर्दापनि स्थानियलाई जानकारी नै नगरी एकलौटी रुपमा निर्णय गरेको स्थानिय खगेन्द्रराज उपाध्यायले बताए । ‘एकलौटी रुपमा समिति बनाएर मनपरी रुपमा निर्णयपनि गरे’, उनले भने, ‘कल्भर्ट साँघुरो हुन्छ भनेर आवाज उठाउँदापनि सुनुवाई भएन ।’ त्यस्तै उक्त वडाको शिक्षा, स्वास्थ्य लगाएत हरेक क्षेत्रमा राजनिति हावी भएको बताउँदै अर्का स्थानिय विर बहादुर ओलीले पनि पुल निर्माणका क्रममा व्यापक राजनितिक चलखेल भएको आरोप लगाएका छन् ।

जवाफदेही होईन भन्दै पन्छिन खोजे जनप्रतिनिधिः
भर्खरै निर्माण सम्पन्न भएको कल्भर्ट भत्किएको सुचनाका आधारमा अर्थ सरोकारको टिम उक्त क्षेत्रमा पुग्यो । त्यहाँ पुग्दा कल्भर्ट भत्किएको त थिएन तर कल्भर्टको बेस भने खोलाले बगाएको थियो । आवतजावत गर्नै नमिल्ने गरी बेस भत्किनुको कारण थियो साँघुरो कल्भर्ट । हामीले उक्त विषयका बारेमा उक्त वडाका पुर्व वडासदस्य तथा उक्त निर्माण कार्यमा ढुवानिको जिम्मा पाएका ठक्कर बहादुर मगरसँग बुझ्ने प्रयास गर्यौं । तर उनले आफु जवाफदेही निकाय नभएको भन्दै पन्छिन खोजे । ‘इन्जिनियरले तयार पारेको इष्टिमेट अनुसार काम भएको छ’, उनले भने, ‘कल्भर्ट निर्माण गर्दा कुनैपनि अनियमितता र राजनितिकरण भएको छैन ।’ त्यसपछि हामीले उनलाई क्यामेरामा बोल्न अनुरोध गर्यौं । तर उनले आफु उक्त विषयको जवाफदेही निकाय नभएको भन्दै पन्छिन खोजे । केही समयको संवादपछी उनि क्यामेरामा बोल्न त तयार भए तर आफुहरुले गरेको गल्ति स्विकार गर्न तयार भएनन् । ‘खोला यति ठूलो आउँछ भन्ने थाहै भएन सोही अनुसार अहिले यो अवस्था सृजना भयो’, उनले थपे, ‘अहिले आएर लाग्यो कल्भर्ट साँघुरो बनेको रहेछ अव समस्या समाधानका लागि प्रयास गर्छौं ।’

ओझेलमा पर्यो दिगो विकासः
स्थानिय सरकारको १३ लाखको लगानिमा निर्माण भएको उक्त कल्भर्टले दिर्घकालिन विकासलाई गिज्याएको छ । कल्भर्ट निर्माण स्थलको भु बनावट र भावी जोखिमको विषयमा अध्ययन नै नगरी खोलामा कल्भर्ट निर्माण गर्नाले अहिले यो अवस्था आएको स्थानियको गुनासो छ । यद्यपि निर्माण सम्पन्न भएको कल्भर्टप्रति उक्त कल्भर्ट निर्माण उपभोक्त समितिका अध्यक्ष राम बादुर श्रीमाल स्वयमं सन्तुष्ट छैनन् । ‘कल्भर्टको इस्टिमेट अनुसार काम भएकै हो’, उनले भने, ‘बर्षाले यस्तो गर्छ भन्ने के थाहा ?’ त्यस्तै उनले नागरिकको सुविधाका लागि बनाइएको कल्भर्टले झन समस्या निम्त्याएको स्विकार गरेका छन् ।

त्यस्तै उक्त समस्या समाधानका लागि नगरपालिकासँग समन्वय भईसकेको वडा नम्बर ७ की वडा अध्यक्ष कलावती साउँदले बताएकी छिन् । कल्भर्टकै कारण बस्ती जोखिममा परेको खबर पाएलगत्तै स्थालगत अनुगमनमा पुगेकी उनले नगरपालिका र इन्जिनियरसँग आवस्यक समन्वय गरेको बताउँदै उक्त समस्या नदोहोरिने गरी काम गर्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal