शुक्लाफाँटा नगरपालिकामा इ–पेमेन्ट सेवा सञ्चालन, चेकका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले आर्थिक प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउनका लागि इ–पेमेन्ट (इलेक्ट्रोनिक फन्ड ट्रान्सफर) सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा सुरु भएसँगै सेवाग्राहीलाई चेकका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सिधै सेवाग्राहीको बैंक खातामै पैसा स्थानान्तरण हुने भएकाले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिने भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए ।

“ई–पेमेन्ट सेवा सुरु भएसँगै चेक काट्नुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य भएको छ,” उनले भने, “यसका माध्यमबाट सेवाग्राहीलाई छिटोछरितो रुपमा सेवा दिन सकिनेछ । यस कार्यले हिसाब मिलानमा समेत निकै सहज हुन्छ । समयको बचत हुन्छ । कर्मचारीको कार्यबोझ घटछ ।” सेवाग्राहीले पेस गरेका कागजपत्रका आधारमा भौचर उठाई सोही आधारमा खातामा नगद रकम स्थानान्तरण गरिने उनले उल्लेख गरे । आर्थिक कारोबारको डे क्लोजिङ हुने भएकाले हिसाब गर्नमा समेत आर्थिक प्रशासन शाखाका कर्मचारीले विगतको जस्तो झन्झट व्यहोर्नु नपर्ने उनले बताए ।

“यस महिनासम्म ई–पेमेन्ट सेवा र चेक काट्ने कार्यलाई नै निरन्तरता हुन्छ,” लेखा शाखाका कम्प्युटर अपरेटर राजेश ऐरले भने, “साउन महिनादेखि पूर्ण रुपमा नगरपालिकाको आर्थिक कारोबार ई–पेमेन्ट प्रणालीमार्फत नै हुन्छ ।” स्थानीय तहको बजेट तर्जुमा लेखाङ्कन र प्रतिवेदन गर्ने प्रयोजनका लागि तयार गरिएको सफ्टवेयर स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत यो सेवा सञ्चालन गरिएको छ ।

आगामी आवदेखि यसै सफ्टवेयरको प्रयोग गरी बजेट तर्जुमा, लेखाङ्कन र प्रतिवेदनका कार्यसमेत यसै सफ्टवेयरमार्फत हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टको भनाइ छ । उनका अनुसार यो प्रणाली लागू गर्दा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ (५) र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिमको विवरण पठाउन सहज हुनेछ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० मा मन्त्रालयले स्थानीय तहको आर्थिक कार्यप्रणाली र प्रशासनिक काम कारबाहीमा एकरुपता कायम गर्न तथा पारदर्शिता र जफावदेहीता प्रवद्र्धन गर्न यो प्रणाली लागू गरेको हो । आव २०७६/७७ देखि नै बजेट तयारी, लेखाङ्कन तथा प्रतिवेदनजस्ता कार्य सूत्रमार्फत गर्ने व्यवस्था मिलाउने भनिए पनि धेरै स्थानीय तहले यस प्रणालीलाई लागू गर्न सकेका छैनन् । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) सफ्टवेयर प्रयोग गरी बजेट स्वीकृत गराउने कार्य दोधारा चाँदनी नगरपालिकाले दुई वर्षदेखि गर्दै आएको छ । महालेखा नियन्त्रक कार्यालयले दोधारा चाँदनीलाई बजेट सूत्र प्रणालीमा प्रविष्ट गरी स्वीकृत गराउँदै आएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal