उपभोक्ता सचेतना बढाउँदै टीकापुर नगरपालिका, ठगिनबाट जोगाउने उद्देश्य

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले ठगिनबाट जोगाउन उपभोक्ता सचेतना बढाउँदै लगेको छ । यसका लागि नगरपालिकाले बजार अनुगमनलगायतका कार्यक्रम नियमित गरिरहेको जनाएको छ । अनुगमनका क्रममा कैफियत देखिए कानुनअनुसार कारबाही गरिने नगरपालिकाले जनाउँदै आएको छ ।

नगर उपप्रमुख खडकबहादुर शाहले कार्ययोजना बनाएर नियमित बजार अनुगमन गर्नुपर्ने र कैफियत भेटिए बिनापूर्वाग्रह कानुनअनुसार कारबाही गरिने बताएका छन् । उपभोक्ता हित संरक्षण शाखा टीकापुरले गरेको वार्षिक समीक्षा कार्यक्रममा उनले भने ,“आम नागरिकको जीवनसँग जोडिएका विषयमा व्यवसायी जिम्मेवार बन्नुपर्छ, उपभोक्ता ठगिएको, व्यापारीले ठगी गरेको भेटिए हामी कारबाही गर्छौँ । अनुगमनकार्य नियमित हुनेछ ।”

कार्यक्रममा विभिन्न वडामा खटिएका उपभोक्ता सचेतना स्वयंसेवकले व्यवसाय दर्ता नभएका, मूल्यसूची नराखेका, म्याद नाघेका वस्तु बेच्ने गरेका र केही विक्रेताले वस्तुमा लेखेको लेवलसमेत पढ्न नसक्ने अवस्था भएको जानकारी गराएका थिए । वडा नं २ मा खटिएकी स्वयंसेवक रिमा चौधरीले विजयनगर गाउँको बजारका पसलको अवस्था बुझ्दा सबैजसो पसलले म्याद नाघेका वस्तु बेच्ने गरेका र विक्रेता वस्तुको लेवल पढ्न नजान्ने अवस्थामा रहेको जानकारी दिए ।

वडा नं ५ का स्वयंसेवक सञ्जु चौधरीले गाउँको बजारमा हप्ता दिनअघि म्याद नाघिसकेका वस्तु खरिद गरेर बेच्न राखेको पाइएको बताए । “गाउँमा म्याद नाघेका खाद्यवस्तुसमेत बेच्ने गरेका पाइएका छन्”, उनले भने, “सामान खरिद गर्न बालबालिका र महिला जान्छन्, बालबालिका म्याद हेर्न जान्दैनन्, महिलाहरू पनि कोही नजान्ने, कोही ध्यान नदिने हुन्छ । यस्तो बेला व्यापारीले लापरवाही गरे स्वास्थ्य जोखिममा रहन्छ ।”

नगरपालिकाले हरेक वडामा दुई जनाका दरले १८ युवालाई स्वयंसेवकका रूपमा वडाका बजारमा पठाएको छ । नपाले यस वर्ष १३० अरु युवालाई पनि उपभोक्ता अधिकारका बारेमा अभिमुखीकरण गरेको छ । उपशाखाले वस्तुको आधारमूल्य थाहा पाउन हरेक महिनाको पहिलो साता खाद्यान्न, फलफूल, तरकारी गरी ६५ वटा उपभोग्य वस्तुको मूल्य सङ्कलन गरी सार्वजनिक गर्दै आएको छ । नपाका निरीक्षण अधिकृत रञ्जु आचार्य टीकापुरको बजारभन्दा ग्रामीण क्षेत्रमा झन् बढी समस्या देखिएको नगरपालिकाको अनुगमनले पनि देखाएको जानकारी दिए । ‘‘बजारभन्दा गाउँतिर रहेका साना बजारमा म्याद नाघेका वस्तु बिक्री भएका भेटिने गरेका छन्, त्यसैले हामीले गाउँ–गाउँका बजारमा अनुगमनका लागि स्वयंसेवक खटाएका हौँ”, उनी भन्छन्, “पहिलो चरणमा सम्झाउने र अवस्थाबारे जानकारी भयो, अब आउँदा दिनमा कानुनअनुसार अघि बढ्न सकिन्छ ।”

नगरपालिकाले बजार व्यवस्थापन ऐन र नियमावली बनाएर अनुगमन, गुनासो सुनुवाइ र कारबाहीका काम सँगसँगै गरिरहेको छ । आर्थिक विकास शाखाका प्रमुख नन्दबहादुर केसीले उपभोक्ता सचेत र व्यवसायी जिम्मेवार नभएसम्म उपभोक्ता सुरक्षित हुन नसक्ने बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्च टीकापुका अध्यक्ष एकिन्द्र तिमिल्सिना उपभोक्तालाई सचेतना कार्यक्रम गरी व्यवसायीलाई जिम्मेवार बनाउनुपर्ने सुझाव दिएका छन् ।

भजनी नगरपालिका साक्षर घोषणा

कैलालीको भजनी नगरपालिका साक्षर पालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका १५ देखि ६० वर्ष उमेर समूहका ९७ प्रतिशत नागरिक साक्षर भएसँगै एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई साक्षर घोषणा गरिएको हो ।

नपाभित्र रहेका तीन हजार ७३४ घरधुरीको सर्वेक्षणबाट सबै जना साक्षर भएको तथ्याङ्कानुसार साक्षर पालिका घोषणा गरिएको नगरपालिकाले जनाएको छ । वि.सं २०६७ को सर्वेक्षणअनुसार नपाभित्र निरक्षरता सङ्ख्या ११ हजार ७२० रहेकामा वि.सं २०७१ सम्म विभिन्न स्थानमा साक्षरता कक्षा सञ्चालन भएका थिए ।

साक्षरता कक्षाबाट १२ हजार २९ जना साक्षर बनेका थिए । यसका लागि नगरपालिकाले १२५ स्थानमा साक्षरता कक्षा सञ्चालन गरेको जनाएको छ । १५ देखि ६० वर्ष उमेर समूहले अक्षर चिन्न सक्ने साक्षरता दर बढेसँगै नपालाई साक्षर नगरपालिका घोषणा गरिएको भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले बताए । यसअघि कैलालीका जोशीपुर, जानकी, टीकापुरलगायतका पालिका साक्षर घोषणा भइसकेका छन् ।

जानकीमा आफ्नो नामः आफ्नो रुख कार्यक्रम सुरु

कैलालीको जानकी गाउँपालिकाले आफ्नो नामः आफ्नो रुख कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाका योजना तथा पूर्वाधार शाखा प्रमुख इञ्जीनियर योगेन्द्र शाहीले आफ्नो जन्मदिनको अवसर पारी कटासेस्थित खेलमैदानमा रुख रोपेर सो अभियानको सुरु गरेका हुन् ।

गाउँपालिकाले आव २०७९÷८० को नीति तथा कार्यक्रममा वन वातावरण तथा विपद् व्यवस्थापनका लागि पालिकालाई हरित गाउँपालिका बनाउन आफ्नो नामः आफ्नो रुख कार्यक्रम अघि सारेका थिए । वडा नं ९ स्थित कटासे फुटबल मैदानमा इञ्जीनियर शाहीले सीता अशोकका चारवटा रुख रोपेका छन् । गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले आफ्नो जन्मदिनमा रुख रोप्ने र त्यसमा आफ्नो नाम लेख्ने कार्यक्रम सुरु गरेर पालिकालाई हरित पालिका बनाउन सहज हुने बताए ।

उनले हरेक नागरिकलाई आफ्नो जन्मोत्सवमा रुख आग्रह गरेका छन् । “वन वातावरण संरक्षण सबैको दायित्व हो, जन्मदिनमा कम्तीका दुई–चार रुख रोप्नसके पनि वातावरण संरक्षणमा जिम्मेवार बनाउँछ”, उनले भने, “आफूले रोपेको रुख संरक्षण गर्न पनि मन लाग्छ । त्यसैले रुख रोप्न अनुरोध गरेका छौँ । यस कार्यमा सबै पालिकाका नागरिक सहभागी हुने आशा गरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal