सुदूरपश्चिम प्रदेशसभामा बजेट बहुमतले पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बुधबार बसेको दोस्रो बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट बहुमतले पारित भएको छ । बजेट माथिको छलफल सकिएपछि गए राति ८:४५ बजे बसेको दोस्रो बैठकबाट बजेट पारित गरिएको हो । आर्थिक मामिला मन्त्री प्रकाश रावलले बैठकमा छुट्टाछुट्टैरुपमा आव २०७९/८० को बजेटसँग सम्बन्धित सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

यसअघि बजेटको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिदैँ मन्त्री रावलले बजेटका विषयमा आएका गुनासालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बजेटका बारेमा प्रदेशसभा सदस्यले गरेको असन्तुष्टिका कारण सदन सञ्चालन अवरुद्ध भइरहँदा बुधबार प्रदेश सरकार र प्रतिपक्षी नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच लिखित सहमति भएसँगै बजेट माथिको छलफल सुरु भएको थियो ।

सरकारले यही असार १ गते प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु. ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट पेस गरेको थियो । बुधबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले डडेलधुरा जिल्ला प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले पदबाट राजीनामा दिएकाले नेपालको संविधान र सुदूरपश्चिम प्रदेशसभा नियमावलीबमोजिम उक्त प्रदेशसभा सदस्य रिक्त रहेको व्यहोरा सदनलाई जानकारी गराए ।

नेपाली कांग्रेस पार्टीले कारबाही गरेको अवस्थामा नैतिकताका आधारमा प्रदेशसभा सदस्य पदमा बसिरहन नमिल्ने भनी उनले राजीनामा स्वीकृत गराउने व्यवस्था गरिदिन सभामुखसमक्ष यही असार १३ गते राजीनामा पत्र पेस गरेका थिए । वि.सं २०७४ मा सुदूरपश्चिम प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसको तर्फबाट मल्लसहित चार जना निर्वाचित भएका थिए । मल्लको राजीनामासँगै प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित कांग्रेसका प्रदेशसभामा अब ११ सदस्य छन् । —रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal