बिरामीको चाप बढ्दा टीकापुर अस्पतालमा शय्या अभाव, सेवाका लागि पालो कुर्नुपर्ने बाध्यता

टीकापुर । कैलालीको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ । दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या अभाव हुन थालेको हो । यसअघि प्रसूति र हाडजोर्नी सम्बन्धि शल्यक्रिया गरिँदै आएकामा अस्पतालले एक हप्तादेखि आफ्नो सेवा विस्तार गरेको छ । टीकापुर अस्पतालबाट अब हाइड्रोशिल, हर्निया, पत्थरी, पाइल्स, फिस्टुला, स्तनका गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत र पानी भरिएका बिरामीको शल्यक्रिया सेवा थालेको छ ।

शल्यक्रिया सेवा पाउन थालेपछि बिरामीको चाप बढेको छ । सल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने भएको छ । शय्या अभावपछि बिरामीले पालो पर्खिनु पर्छ । जोशीपुरकी सरस्वती श्रेष्ठ बुवाको हाइड्रोशिलको शल्यक्रियाका लागि पालो कुर्नुपरेको बताउँछन् । “ शल्यक्रियाका लागि निकै कुर्नुपर्छ, शल्यक्रियापछि शय्या पाउन झन मुश्किल हुने गरेको छ”, उनले भने ।

चाप बढेपछि बिरामीको अवस्था हेरेर अस्पतालले घर पठाउने र शय्या उपलब्ध गराउन थालेको छ । अस्पतालसँग भौतिक सुविधा अभाव हुँदा बिरामीका कुरुवाले अस्पताल प्रशासनसँग आक्रोश पोख्ने गरेका छन् । अस्पताल ५१ शय्याको मात्र भए पनि अस्पतालले थप शय्या थपेर सेवा दिइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपड सोडारी बताउँछन् । “५१ शय्याले धान्न मुस्किल छ । दैनिक ४० देखि ५० बिरामी भर्ना हुन्छन्, नियमित शल्यक्रिया सेवापछि शय्याको अभाव भएको हो”, उनले भने ।

टीकापुर अस्पतालमा शल्यक्रिया सेवा पाएपछि यहाँका बिरामीलाई धनगढी र नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको छ । अस्पतालमा कैलालीको टीकापुरसहित जानकी, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र बर्दियाको राजापुर नगरपालिकाका बिरामी बढिजसो उपचार गर्न आउने गरेका छन् । स्वास्थ्य बीमामार्फत सेवा लिने समेत बढेको अस्पतालले जनाएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal