प्रशासनको नाममा नक्कली सिफारिस पत्र बनाएर माग्नेको भेषमा ‘ठगी’, के भन्छ प्रशासन ?

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । ‘म बोल्न सक्दिन, मेरो जिब्रो नै छैन’ भन्दै चोर औँलाले आफ्नो जिब्रो नै कोट्याएर माग्नेहरु प्रशस्त देखिन्छन् । सोझा जनातालाई झुक्याएर पैसा माग्ने उनिहरुको हुलिया देख्दै ‘टिठलाग्दो’ हुन्छ । टाउकोमा ढाका टोपी, झुत्रा परेका, फोहोर लुगा लगाएका उनीहरुको हुलिया देख्दा जो–कोहीपनि झुक्किन्छन् । अझ, प्रशासन कार्यालय र स्थानीय निकायले दिएको सिफारिस पत्र नै देखाएपछि अविश्वास गर्ने कुरै भएन । र त दैनिक यस्ता ‘धुन्दुकारी’ ठगहरुको फन्दामा सोझा जनता परिरहन्छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका मा एकजना साह्रै ‘टिठलाग्दो’ देखिने अन्दाजी १८ वर्षिय युवक हातमा एउटा कागज लिएर नजिक आयो । आफ्नो चोर औँलाले जिब्रो कोट्याउँदै उसले केही संकेत गर्यो । लाग्यो, ‘केही भन्न खोजिरहेको छ !’ केही नबुझेपछि हातले ईसारा गर्दै हामीले पनि सोध्यौँ– ‘के भयो ? के भनेको ?’ उसले फेरी त्यही ईसारा दोहोर्यो ।

हामी अलमलमा पर्यौं । फेरी उसले हाम्रो कपडा नै तानेर केही देखाउन खोज्यो । उसको हातमा रहेको कागज हामीलाई पढ्न अनुरोध गर्यो । हामीले पनि के रहेछ ? भन्दै उसले दिएको कागज पढ्यौँ । कागजको शिरमा ‘जिल्ला प्रशासन कार्यालय कैलाली’ लेखिएको थियो । प्रशासन कार्यालयको नै पत्र देखेपछि हामी थप जिज्ञासासहित पत्र पढ्न थाल्यौँ ।

पत्रमा अस्वभाविक भाषाहरु प्रयोग गरिएका थिए । तर, प्रशासन कार्यालयको छाप र हस्ताक्षर देखेपछि पत्याउनै पर्यो । पत्र पढ्दै गयौँ । पत्रमा अनेक दुःख र वेदनाका कुरा लेखिएको थियो । पत्रमा नाम, ठेगाना केही नदेखेपछि हामीले सोध्यौँ– ‘तिम्रो घर कता हो ? नाम के हो ?’, उसले फेरी केही नौलो ईसारा गर्यो । दुवै हातले आफ्नो कान देखाउँदै सुन्न सक्दिन भन्ने संकेत गर्यो । हामी फेरी दोधारमा पर्यौं ।

दुवै हात जोडेर उसले हामीसँग इशारामा पैसा मागिरहेको थियो । हामीपनि पैसा दिने तर्खर गर्दै थियौँ । अचानक हाम्रो नजर पत्रको अन्तिममा लेखिएको मितिमा पुग्यो । हामी थप अचम्मित भयौँ । पत्रको अन्तिममा लेखिएको थियो, ‘मिति– २०८१/०१/०४’ । अर्थात, उक्त पत्र पुर्णरुपमा नक्कली थियो ।

प्रहरी बिटको नजिकै भएकाले हामीले उक्त युवकलाई प्रहरीकहाँ लग्यौँ । सुरुमा त्यहाँपनि ‘बोल्न सक्दिन’ भन्ने ईशारा गरिरहेको उसले केही समयमा मुख खोल्यो । ‘मलाई केही नगर्नुस। मैले केही गरेको छैन। भोको पेट पाल्नका लागि यो सब नाटक गरेको हुँ ।’ प्रशासनको फर्जि सिफारिस देख्दाभन्दा हामी अझै बढी अचम्मित भयौँ । उ बोलिरहेको थियो । जसले केही समय अगाडी हामीसमक्ष बोल्न सक्दिन भन्दै गिड्गिडाएको थियो ।

हामीले सो विषयमा बुझ्न जिल्ला प्रशासन कार्यालय कैलालीमा पनि सम्पर्क गर्यौं । ‘त्यस्तो नहुनुपर्ने’ भन्दै कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सो पत्र पठाउन आग्रह गरे । र हामीले पनि उनको ‘ह्वाट्सप’मा सो पत्रको फोटो पठायौँ । ‘यस्तो पत्र हाम्रो कार्यालयबाट जारी हुँदैन। यो पुर्णरुपमा ठगि गर्नेहरुको योजना हो, कार्यालयका सूचना अधिकारी जोशीले भने, ‘यस्तो असभ्य भाषा, अपुष्ट सुचना र मिति नै गलत राखेर हामीले पत्र जारी गर्दैनौँ। यो फेक हो ।’ तपाईको कार्यालयको फेक डकुमेन्ट देखाएर ठगि गर्दा बदनाम त तपाईकै होला नि ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्– ‘हो, बदनाम मात्र होईन यस्तो गर्नु त अपराध नै हो। हामी तुरुन्त यो पत्र प्रहरीलाई पठाउछौँ र आवश्यक कारबाहीका लागि पहल गर्छौं ।’

अन्ततः उक्त युवकलाई जिल्ला प्रहरी कार्यालय पठाइएको र आवश्यक छानबिन थालिएको प्रहरीले जनाएको छ । साथै, यस्ता पत्र लिएर कोही माग्न आएमा चनाखो रहनसमेत जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय कैलालीले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal