कोरोना सङ्क्रमणमा दोब्बरले वृद्धि, सीमाक्षेत्रमा कडाइ

बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसका साथै साउन महिनाको दुई साताको सङ्क्रमणदर हेर्दा पनि पहिलोभन्दा दोस्रो साता दोब्बरले बढेको पाइएको छ । पहिलो साता ५६ जनामा सङ्क्रमण देखिएकामा दोस्रो साता थप एक सय १३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

भारतमा कोरोना सङ्क्रमणदर नियमितरूपमा बढिरहेकाले सीमा जोडिएको यस प्रदेशमा सङ्क्रमदर बढ्दै गएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । दुई हप्ता अगाडि शून्यमा झरेको कोरोना सङ्क्रमणदर हाल बढ्दै गएसँगै जोखिम बढेको हो । गत असार ३२ गते शून्यमा झरेको सङ्क्रमणदर त्यसयता बढ्दै गएको छ । उनले भने, “पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तररूपमा भइरहेको छ ।”

सीमा क्षेत्रमा जोखिम बढेकाले यहाँका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राख्दै बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तररूपमा सञ्चालनमा रहेको जोशीको भनाइ छ । सङ्क्रमणदर बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्न निर्देशनालयको आग्रह छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५८ हजार सात सय ४३ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार आठ सय ९९ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३३ जनाको ज्यान गइसकेको छ । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal