बैतडीमा पहिलोपटक अन्तरपालिका बैठक, सिकाइ आदानप्रदान गर्ने उद्देश्य

कञ्चनपुर । बैतडीमा पहिलोपटक सिकाइ आदानप्रदानका लागि अन्तरपालिका समन्वय बैठकको सुरुआत गरिएको छ । बैठकको प्रारम्भ नयाँ प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले गरेका हुन् । सो बैठकद्धारा एकआपसमा अनुभव साटासाट गर्ने र सिकाइ आदानप्रदान गराउने उद्देश्यले अन्तरपालिका समन्वयात्मक बैठकको सुरुआत गरिएको प्रजिअ पन्थीले जानकारी दिएका छन् ।

जिल्ला प्रशासनको संयोजनमा १० वटै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच समन्वय बैठकको सुरुआत गरिएको हो । घुम्ती अन्तरपालिका बैठक सञ्चालन हुने र पहिलो बैठक दशरथचन्द नगरपालिकामा सम्पन्न भएको छ । सुशासन, विकास र सेवा प्रवाहका विषयमा पालिकाबीच साझेदारी गर्ने र असल अभ्यास आदानप्रदान गर्ने बैठकमा आयोजना गरिएको प्रजिअ पन्थीको भनाइ छ ।

उनले भने, “नयाँ जनप्रतिनिधिलाई अनुभवको खाँचो रहेको छ । पुरानाबाट अनुभव साटासाट, सीमा जोडिएका पालिकाको विकास निर्माण, सुशासन, सबै पालिकामा एकरुपता ल्याउने । कुनै पालिकाबीच समस्या भए समाधान गर्न पहल गर्ने उद्देश्य राखेका हौँ ।” तीनवटै तहका सरकारले एकअर्कासँग मिलेर काम गर्ने भनेर कानुन बनेको भए पनि स्थानीय सरकारबीच पनि साझेदारी आवश्यक रहेको प्रजिअ पन्थीको भनाइ छ ।

पहिलो पटक अन्तरपालिका समन्वयात्मक बैठक गरिएको र समन्वय बैठक सिकाइ आदानप्रदानका लागि महत्वपूर्ण बन्ने पुर्चौंडी नगर प्रमुख दीपकबहादुर बमले जानकारी दिएका छन् । उनले भने, “नयाँ जनप्रतिनिधिलाई पालिकाको कामलाई कसरी प्रभावकारी बनाउन भनेर अन्तरपालिका समन्वयात्मक बैठकमार्फत पहल सुरु भएको छ, बैठकबाट धेरै कुराको सिकाइ भएको छ ।”

बैठकमा नगरपालिकामार्फत सञ्चालन गरिएका विकास र सुशासनका कामका बारेमा जानकारी गराइएको र अरु पालिकाले गरिरहेका कामका बारेमा पनि अनुभव साटासाट गरिएको दशरथचन्द नगर प्रमुख पुष्करराज जोशीले बताएका छन् । उनले भने, “पालिकाले गरिरहेका असल अभ्यासका विषयमा सिकाइ आदानप्रदान गर्न अन्तरपालिका समन्वयात्मक बैठकले सहज भएको छ, यसको निरन्तरता आवश्यक छ ।”

स्थानीय तहमा रहेका न्यायिक समितिलाई सक्रिय बनाउन समितिका सदस्यलाई क्षमता अभिवृद्धि तालिम दिने, सीमा जोडिएका पालिकाले विपद् व्यवस्थापनका लागि निरन्तर समन्वय र सहकार्य गर्ने, पालिकाबीच असल अभ्यास, समस्या लगायतका विषयमा बैठकमा छलफल भएको छ । प्रत्येक महिना फरकफरक पालिकामा सञ्चालन हुने अन्तरपालिका समन्वयात्मक अर्को बैठक आगामी भदौ १५ गते पाटन नगरपालिकामा बस्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal