कञ्चनपुरमा ज्वरोका बिरामीका सङ्ख्यामा वृद्धि, धेरैजसोको लक्षण कोरोनासँग मिल्दोजुल्दो

कञ्चनपुर । कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्नेलगायतका समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

लालझाडी गाउँपालिकाको देखतभुली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाका अनुसार दैनिक स्वास्थ्यचौकीमा ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या ३० देखि ३५ जनासम्म रहने गरेको छ । स्वास्थ्यकर्मीले बिरामीलाई जाँच गरी औषधि उपलब्ध गराउने काम भइरहेको स्वास्थ्य चौकीले जनाएको छ । ‘स्वास्थ्यचौकी पुग्ने ज्वरोका बिरामीमध्ये आधाभन्दा बढीमा कोरोनाको जस्तै लक्षण देखिने गरेको छ’, उनले भने, ‘यस्ता बिरामीलाई आइसोलेट गर्नुपर्नेमा त्यो हुनसकेको छैन । त्यसैले पनि ज्वरोको लक्षण लिएर आउने बिरामी बढेका छन् ।’ ज्वरो आएकाले पनि मास्कको प्रयोग नगर्ने भएकाले पनि सङ्क्रमण बढदो रूपमा रहेको उनले जानकारी दिए ।

शुक्लाफाँटा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्रमा दैनिक उपचारका लागि पुग्ने तीन सय बढी बिरामीमध्ये आधा बढी बिरामी ज्वरोका रहने गरेका छन् । ती मध्ये धेरैजसो बिरामीको लक्षण कोरोनासँग मिल्दोजुल्दो छ ।

मौसम परिवर्तनसँगै ज्वरोका बिरामी बढेको उनको भनाइ छ । ज्वरोसँगै टाइफाइड, रुघाखोकीसँगै दूषित पानीका कारणसमेत बिरामीको सङ्ख्या बढदो रहेको छ । दोधारा चाँदनी प्राथमिक स्वास्थ केन्द्रका चिकित्सक आशिष पोख्रेलका अनुसार दैनिक केन्द्रमा एक सय बढी बिरामी उपचारका लागि पुग्ने गर्दछन् । तीमध्ये ७० प्रतिशत बिरामी भाइरल ज्वरोका रहने गरेका छन् ।

बिरामीको जाँचसँगै औषधि उपलब्ध गराई उमालेको पानीको प्रयोगमा जोड दिनका लागि आग्रह गरिँदै आएको चिकित्सक पोख्रेलले जानकारी दिए । महाकाली अस्पतालमा समेत उपचारका लागि पुग्नेमध्ये ६० प्रतिशत बढी बिरामी ज्वरोका रहने गरेका छन् । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal