छाडा पशुचौपाया व्यवस्थापनमा ध्यान नदिदाँ सवारी दुर्घटनामा वृद्धि, व्यवस्थापनका नाममा करोड रकम खर्च

  • अर्थ सरोकार सुदूरपश्चिम ब्यूरो

महेन्द्रनगर । कञ्चनपुरमा छाडा पशुचौपाया व्यवस्थापनमा ध्यान नपुर्याउदा दुर्घटना हुने संख्या ह्वात्तै बढेको छ । कञ्चनपुरका अधिवक्ता गजेन्द्र रावलले केही वर्षअघि छाडा पशु व्यवस्थापनमा ध्यान नदिएको जनाउँदै यहाँका चार पालिकाविरुद्ध उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा मुद्दा दायर गरेका छन् ।

सार्वजनिक सरोकारको विषयमा पालिकाको छाडा पशु व्यवस्थापनमा ध्यान नदिँदा पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना बढेको र किसानको खेतीबाली नोक्सान पुगेको जनाउँदै दायरा गरेको मुद्दामा अदालतले अन्तरिक आदेश जारी गर्दै व्यवस्थापनमा ध्यान दिन पालिकालाई आदेश दिएका छन् । यहाँ न अदालतको आदेश कार्यान्वयन भयो नत पालिकाले पशु व्यवस्थापन नै गर्न सके । छाडा पशु व्यवस्थापनका नाउँमा भीमदत्त नगरपालिकादेखि यहाँका अन्य पालिकाले करोड रकम खर्च गरे तर राजमार्गबाट छाडा पशुको बसाईं अन्त अझै सरेको देखिँदैन ।

अधिवक्ता रावलले अदालतले तत्काल यहाँको भीमदत्त , बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका नाममा आदेश जारी गरेको बताएका छन् । “अदालतको आदेशपछि छाडा पशु व्यवस्थापनका नाममा करोडौँ खर्च गरेको सुनियो तर व्यवस्थापन भएन”, उनले भने, “ तर अहिले राजमार्गमा छाडा पशुका कारण दिनहुँजसो सवारी दुर्घटना भइरहेको अवस्था छ ।”

उनले सार्वजनिक सरोकारका विषय भएकाले पूर्वपश्चिम राजमार्गमा पर्ने पालिकालाई विपक्षी बनाएर मुद्दा दायर गरेको जानकारी दिएका छन् । यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले छाडापशु चौपायाका कारण यहाँ भइरहेको सवारी दुर्घटनाको डरलाग्दो रुपको पनि जानकारी गराएका छन् ।

उनले बितेको सात महिनाको अवधिमा छाडा पशुकै कारण सवारी दुर्घटनामा परी नौ जनाले ज्यान गुमाएको बताए । “सात महिनामा छाडापशु राजमार्ग र सडकमा हुँदा ९४ वटा सवारी दुर्घटना भएको तथ्याङ्क छ ।” प्रहरी उपरीक्षक चौधरीले भने, “जसमा १८/१९ जना घाइते भएर अपाङ्गता भएको स्थिति छ ।” दुर्घटनामा दर्जनौँ छाडा पशुसमेत मरेको प्रहरीको भनाइ छ ।

“सडक पूर्वाधार भनेको विकासको सूचक हो, तर यहाँ गड्डचौकीदेखि मोहना पुलसम्मद दर्जनौँ ठाउँमा छाडा पशु राजमार्गमै भेटिन्छन्”, उनले भने, “जसका कारण सवारी दुर्घटना हुँदा मान्छेले जीवनभरि पनि अपाङ्गता भएर बस्नुपर्ने अवस्था आयो ।” उनले छाडा पशु व्यवस्थापनमा स्थानीय सरकारसँगै पशुपालक किसान स्वयं जिम्मेवार हुनुपर्नेमा जोड दिए । “दूध खाने दिन छाडेपछि छाडा छोड्ने प्रवृत्ति राम्रो भएन”, अधिवक्ता रावलले भने, “ व्यवस्थापनमा सबैको हातेमालो जरुरी छ ।” यहाँस्थित महाकाली यातायात बहुउद्देश्यीय कम्पनीका अध्यक्ष डम्बर पन्तले अहिले दुर्घटनाका कारण छाडापशु चौपाया भइरहेको बताए ।

“उहिले सडकलगायत अन्य कारणले दुर्घटना हुन्थ्यो”, उनले भने, “अहिले महेन्द्रनगरदेखि कैलालीको चिसापानीसम्म सबैभन्दा बढी दुर्घटना छाडापशुकै कारण भइरहेको छ ।” छाडा पशु राजमार्गमा सर्वत्र हुँदा साँझको समयमा बढी दुर्घटना हुने गरेको उनको भनाइ छ । “साँझपछि रातिको समयमा गाईगोरुको रङ पनि कालो सडक पनि कालोपत्र हुँदा बढी दुर्घटना भएका घटना छन्”, उनले भने, “कञ्चनपुरमा छाडा पशुको व्यवस्थापन चुनौती बनिरह्यो ।” उनले सम्बन्धित पालिकाले अभिलेख राखेर छाडा छोड्ने किसानलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरे । “दूध खाएर पशु छोड्नेलाई पालिकामा जरिवाना गर्नेदेखि सुविधा कटौतीसम्मको नीति ल्याउनुपर्छ ।” छाडापशुसित मोटरसाइकल दुर्घटना बढी सङ्ख्यामा भएको देखिन्छ ।”

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ मा वडाध्यक्ष रमेश ऐरले भने यहाँको विन्द्रावन सामुदायिक वनको छेउछाउमा रहेको फाँटमा छाडा पशु व्यवस्थापन गरिरहेका छन् । “हामीले व्यवस्थापन गरेपछि पनि राजमार्गमा पूर्णरुपमा न्यूनीकरण भएको छैन”, उनले भने, “अहिले नगरपालिकाकै सहयोगले पशु व्यवस्थापनमा १२ जना मजदुर राखेर खटिएको छु ।” उनले सबै पालिकाले प्रयास नगरेसम्म कञ्चनपुरका छाडा पशु व्यवस्थापन हुन नसक्ने जिकिर गरे । “अहिले हाम्रो काञ्जी घरमा साढे चार सयजति छाडा पशु व्यवस्थापन गरेका छौँ”, उनले भने, “त्यसका लागि ४० बिघा जमिन ओगटेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal