‘अटेरी हाकिम’: दुर्गममा सरुवा भएपछि ‘सेटिङ’ मिलाएर धनगढीमै जरा गाडे, मन्त्री र सचिवको ‘फुल सपोर्ट’ !

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । सरुवा भएको ५ महिनासम्म पनि सुदूरपश्चिम आयुर्वेदिक चिकित्सालयका तत्कालीन निमित्त प्रमुख खगेन्द्र बम धनगढीमै बसेको पाइएको छ । धनगढीबाट आयुर्वेद अस्पताल बझाङको प्रमुखमा सरुवा भए पनि उनी विगत पाँच महिनादेखि धनगढीमै बसेको पाइएको हो ।

बम गत फागुन २८ गते बझाङ सरुवा भएका थिए । सरुवा हुँदा पनि उनी रमना नै नलिई अटेर गर्दै धनगढीमै बस्दै आएका थिए । उक्त विषयमा अर्थ सरोकारले ‘१० वर्षदेखि एउटै अस्पतालमा छन् यी कर्मचारी, दुर्गममा सरुवा भएपछि सरुवा रोक्न ‘लविङ’, ठाउँ नछोड्न अनेक बाहना ! शिर्षकमा समाचार सार्वजनिक गरेपछि उनले सरुवा भएको १ महिनापछि रमना बुझेका थिए ।

रमना बुझेपछि उनी एकपटक मात्रै बझाङ पुगेको अस्पताल स्रोतको भनाई छ । फागुनमा सरुवा भएका बम बैशाखमा बझाङ पुगेर हाजिर भएर पुनः धनगढी फर्किएका हुन् । प्रादेशिक आयुर्वेद चिकित्सालयमा निमित्त प्रमुख भएका बेला करारका कर्मचारी छनौटमा आर्थिक चलखेल गरेको आरोप लागेपछि बमलाई प्रदेश सरकारले बझाङ सरुवा गरेको थियो । तर, दुर्गममा सरुवा भएपछि उनी सामाजिक विकास मन्त्री र सचिवको आडमा धनगढीमै बसेका हुन् ।

आफुलाई माओवादी निटक बताउने बमले सामाजिक विकास मन्त्री झपट साउँदको संरक्षण पाइरहेको आरोप लाग्दै आएको छ । अहिले मन्त्री र सचिवलाई फकाएर उनी मन्त्रालयमै बसेको मन्त्रालय स्रोतको दाबी छ । स्रोतका अनुसार बम सामाजिक विकास मन्त्रालयमा बसेर आयुर्वेद महाशाखा चलाउने मिशनमा छन् । ‘अहिले मन्त्री पनि माओवादीकै हुनुहुन्छ, यसकारण पनि उनलाई सजिलो छ ।’, स्रोतले भन्यो, ‘उहाँको मिशन मन्त्रालयमै बसेर आयुर्वेद महाशाखा चलाउने हो ।’

के भन्छन् बम ?

यता बमले भने आफू बझाङ गएर आईसकेको बताएका छन् । उक्त विषयमा खासै बोल्न नचाहेका उनले सरुवा भएपछि आफू बझाङ आयुर्वेदिक अस्पतालमा पुगेका फर्किएको बताए । एकचोटी पुगेर आएर हुन्छ ? नजाने हो ? भन्ने प्रश्नमा अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने– ‘म अहिले निर्देशनालयमा छु, जाने नजाने भन्दा पनि मन्त्रालय अन्तर्गत भएकोले जहाँ काम गर्दा पनि हुन्छ । मन्त्रालयले जहाँ भन्छ, त्यहीँ काम गर्ने हो ।’

यसो त बमको धनगढीकै निजी अस्पतालमा पनि लगानी भएका कारण उनी बाहिर जान नचाहेको चर्चा छ । तर, बमले भने उक्त आरोप झुठो भएको दाबी गरेका छन् । तर, सो विषयमा उनी थप बोल्न चाहेनन् ।

सरुवा भएपछि पनि बम धनगढीमै ‘जरा’ गाडेर बसेपछि बझाङबासी करिब १० महिनादेखि ओपीडी सेवाबाट बञ्चित भएका छन् । पछिल्लो ४ महिनादेखि डक्टरविहीन बनेको बझाङ आयुर्वेदिक अस्पताल हाल वैद्यका भरमा चलिरहेको छ । हाल बझाङ आयुर्वेदिक अस्पतालमा एकजना कबिराज, २ जना वैद्य, १ लेखा र २ कार्यालय सहयोगी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal